३ असार, काठमाडौं । यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा यसबारे जानकारी गराउनुभएको हो । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो ।
संसद बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् भनी प्रश्न सोध्नुभएको थियो । काठमाडौंका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको र त्यहाँ व्यवस्थापन समेत राम्रो नभएको भन्दै प्रश्न उठिरहेको सन्दर्भमा अध्यक्ष साम्पाङले यदि व्यवस्थापन गर्न नसक्ने भए पहिले बसेकै ठाउँमा व्यवस्थापन गर्न सकिने आग्रह समेत गर्नुभएको थियो ।
सांसद साम्पाङको सोही प्रश्नको जवाफ दिँदै मन्त्री रावलले लालपुर्जाको हकमा काम सुरु भइसकेको र अब असारको तेस्रो हप्तादेखि वितरण गर्ने काम सुरुवात गरिने प्रतिबद्धता जनाउनुभयो । विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएकोमा वर्तमान सरकारले भने भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम तीव्र रूपमा अगाडि बढाएको जानकारी मन्त्री रावलले गराउनुभएको छ ।




