२२ वैशाख, काठमाडौँ । हाल नेपालको मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले मुलुकभर आंशिकदेखि पूर्ण बदलीको अवस्था छ । दक्षिणी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसम प्रणालीलाई थप सक्रिय बनाएको छ । यसको प्रभावले विशेषगरी सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली छ भने कोशी, कर्णाली, लुम्बिनीका पश्चिमी क्षेत्र र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । सुदूरपश्चिमका केही स्थानमा अहिले मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
आज राति पनि मौसममा पूर्ण सुधार हुने संकेत देखिएको छैन । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना कायमै रहनेछ भने अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ ।
मौसमविद्हरूले वर्षा, चट्याङ्ग र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा कृषि क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।



