चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आगामी राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गरेको छ ।
पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटीको बैठकले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने औपचारिक निर्णय गरेको हो । पार्टी सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले दिनुभएको जानकारी अनुसार यस बैठकले महाधिवेशनको सांगठनिक तयारीका पक्षमा महत्वपूर्ण निर्णयहरू समेत गरेको छ ।
यसअघि सम्पन्न आम निर्वाचनको ६ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने सैद्धान्तिक निर्णय गरेको पार्टीले आन्तरिक तयारी र प्राविधिक पक्षहरूलाई मध्यनजर गर्दै यो समय तालिका निर्धारण गरेको बुझिएको छ । चितवनमा हुने यस भेलालाई रास्वपाले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण खुड्किलोका रूपमा लिएको छ ।



