बैशाख १६, काठमाडौँ । देशभर अहिले मौसम अस्थिर बनेको छ । पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भाग नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण धेरै स्थानमा बादल लागेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा अहिले बदली रहेको छ भने हिमाली र पहाडी भू-भागमा मौसम झन् घना देखिएको छ । यसैबीच गण्डकीका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिनभर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही क्षेत्रमा समेत चट्याङसहित पानी पर्ने देखिएको छ ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी नयाँ जानकारीमा ध्यान दिन आग्रह गरिएको छ ।



