माडी, चितवन । माडी नगरपालिका वडा नम्बर ३, बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको सभाहलमा आज वैशाख ३१ गते बिहीबार बिहान ११ बजे एक विशेष भेला आयोजना हुन लागिरहेको छ । विद्यालय व्यवस्थापन समितिकी वर्तमान अध्यक्ष शान्ती चौधरी र शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम पौडेलको कार्यकाल पूरा भएसँगै आजको यस भेलाले नयाँ समिति गठन गर्ने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने विषयमा महत्वपूर्ण निर्णय लिनेछ ।
कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कक्षा १ देखि ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन हुने उत्कृष्ट शैक्षिक वातावरण रहेको छ । प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ सम्म एनिमल साइन्स विषयको पढाइ हुनुका साथै कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, होटेल म्यानेजमेन्ट र पिवर साइन्स जस्ता आधुनिक सङ्कायहरू सञ्चालनमा रहेका छन् । साना विद्यार्थीहरूको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै कक्षा ५ सम्म विद्यालयमै दिवा खाजाको समेत सुव्यवस्थित प्रबन्ध गरिएको छ ।
विद्यालयको आगामी शैक्षिक यात्रा र प्रशासनिक सुदृढीकरणका लागि आयोजना गरिएको यस गरिमामय कार्यक्रममा आफ्नो अमूल्य मत र सुझावसहित सहभागी भई नयाँ नेतृत्व चयन प्रक्रियालाई सफल पारिदिनुहुन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूमा विद्यालय प्रशासनले हार्दिक आह्वान गरेको छ । यहाँहरूको उपस्थितिले विद्यालयको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।



