काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष कूल ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ गरी जम्मा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड अर्थात् अवर्गीकृत भएका छन् ।
अघिल्लो वर्षको तुलनामा नन ग्रेडेड हुने विद्यार्थीको संख्यामा सुधार आएको देखिएको छ। गत वर्ष १ लाख ६७ हजार भन्दा बढी विद्यार्थी नन ग्रेडेड भएका थिए भने यस वर्ष सो संख्या २१ हजारले घटेको छ । बोर्डले सार्वजनिक गरेको विवरण अनुसार २०८१ को यस परीक्षामा ४ लाख ३० हजार ६६७ विद्यार्थीको सहभागिता रहेको थियो ।
सोमबार सार्वजनिक गरिएको यो नतिजाले अघिल्लो वर्षको तुलनामा नन ग्रेडेड संख्या घटाउँदै समग्र उत्तीर्ण प्रतिशतमा सुधार ल्याएको देखिएको छ ।



