काठमाडौं | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् ।
२६ औँ निर्मल लामा स्मृति सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अब फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित भएर नयाँ यात्रामा लाग्नुपर्ने आवश्यकता औंल्याए । विगतमा गरिएका कामहरूको चर्चा गरेर मात्रै आजको आवश्यकता पूरा नहुने भन्दै उनले नयाँ शिराबाट विचारात्मक, राजनीतिक र सांगठनिक हरेक दृष्टिकोणबाट अगाडि बढ्ने प्रयास भइरहेको जानकारी दिए ।
कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने विगतको जमर्कोलाई जनता र क्रान्तिकारीहरूले उत्साहका साथ अनुमोदन गरेको स्मरण गर्दै उनले निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुग्नुले पनि नेपाली जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको पुष्टि हुने बताए । नेतृत्वको तर्फबाट बेलामौकामा भएका एकताका प्रयासहरू सुदृढ हुन नसक्दा विगतमा दिगो परिणाम आउन नसकेको स्वीकार गर्दै प्रचण्डले एकता र विभाजनका धेरै शृङ्खला पार गरेर यहाँसम्म आइपुगेको उल्लेख गरे ।
सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको उनको भनाइ छ । देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र मुलुक अप्ठेरो अवस्थामा आइपुगेको दाबी गर्दै उनले कम्युनिस्टलाई सखाप पार्ने खेलहरू भइरहेकोप्रति सतर्क रहनुपर्नेमा जोड दिए । जानेर वा नजानेर श्रमजीवि वर्गप्रति घात भएको ठहर्याउँदै उनले पहिला आफ्नै कमजोरीहरूको गम्भीर समीक्षा गरेर सच्याउनु पर्ने बताए । विगतका जनयुद्ध, जनआन्दोलन र विभिन्न अभियानका उपलब्धिको रक्षा गर्दै अहिलेको परिस्थितिले फेरि नयाँ ढंगले एकताको आधार खोजी गर्न सबैलाई बाध्य पारेको उनले स्पष्ट पारे ।




