२५ वैशाख, काठमाडौँ । धनुषाको महेन्द्रनगरमा सुकुम्वासीहरूले शुक्रबार बिहानैदेखि जनकपुर-ढल्केवर सडक अवरुद्ध पारेका छन् । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्नका लागि सूचना जारी गरेपछि त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
केही समयअघि देखि नै सरकारले देशभर सार्वजनिक जग्गा खाली गर्ने अभियान चलाइरहेको छ । यसअघि काठमाडौँका विभिन्न स्थानमा रहेका अनधिकृत बस्तीहरूमा डोजर चलाएर संरचनाहरू हटाइएको थियो । सोही अभियान अन्तर्गत अहिले देशभरका विभिन्न स्थानीय निकायहरूले सार्वजनिक जग्गा संरक्षण गर्न सूचनाहरू जारी गरिरहेका छन् ।
आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने डरले महेन्द्रनगरका स्थानीय बासिन्दाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । नगरपालिकाको कदमको विरोध गर्दै उनीहरूले उचित विकल्प र व्यवस्थापन बिना आफूहरूलाई हटाउन नहुने माग राखेका छन् । सडक अवरोधका कारण लामो तथा छोटो दूरीका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् भने यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।



