काठमाडौं । ललितपुरको जावलाखेलमा सञ्चालित मुन म्यानपावरमा श्रम मन्त्रालयले छापा मारेको छ । मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि शुक्रबार प्रहरीसहित पुगेको टोलीले उक्त म्यानपावरमा छापा मारेको हो ।
श्रममन्त्रीका स्वकीय सचिव सरोज यादवका अनुसार छापा मार्ने क्रममा म्यानपावरबाट ४ सय ३७ वटा पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको छ । बरामद गरिएको नगदको कुनै आधिकारिक रसिद फेला नपरेकाले उक्त रकम अवैध हुनसक्ने मन्त्रालयको अनुमान छ ।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै मन्त्रालयले उक्त म्यानपावरलाई सिल गरी थप कानुनी कारबाही अगाडि बढाउने जनाएको छ । साथै मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी वा कुनै पनि प्रकारका गुनासाहरू भए तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।




