१ साउन, काठमाडौं । सरकारले बजेटमार्फत ल्याएको नयाँ कर नीतिअनुसार आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लागु भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो नयाँ कानुनी व्यवस्था कार्यान्वयनका लागि आफ्नो केन्द्रीय बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ ।
राधिकरणका अनुसार मासिक पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने कुनै पनि भ्याट लाग्ने छैन । ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा ५० युनिटभन्दा माथिको कुल महसुल रकममा ५ प्रतिशतका दरले भ्याट थपिनेछ ।
यस व्यवस्थाले मासिक सीमित बिजुली प्रयोग गर्ने न्यून आय भएका तथा ग्रामीण क्षेत्रका साना उपभोक्तालाई अतिरिक्त भार थप्ने छैन । देशभर मासिक ५० युनिटसम्म मात्र विद्युत् खपत गर्ने ३० लाखभन्दा बढी ग्राहकहरू यो नयाँ दायराबाट पूर्ण रूपमा मुक्त रहनेछन् । तर, विद्युतीय उपकरणहरूको बढी प्रयोग गर्ने मध्यम र उच्चवर्गीय घरायसी ग्राहकहरू भने यो करको प्रत्यक्ष मारमा पर्नेछन् ।




