१४ भदौ, चितवन । माडी र भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक पिच गर्ने विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंको आयोजनामा देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर सडकखण्ड (७.८१३ किलोमिटर) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालय, जगतपुरमा सम्पन्न भएको हो ।
सुनुवाइमा बोल्दै सहभागीहरूले वर्षौंदेखि सडकको दुरवस्था, लामो यात्रा र निकुञ्ज क्षेत्रका कारण विकास निर्माणमा परेको अवरोध अन्त्य गर्नुपर्ने माग राखेका छन् । उनीहरूले यस क्षेत्रको आवतजावतलाई सहज बनाउन सडक निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन् । भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले सहजीकरण गर्नुभएको सो सुनुवाइमा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र माडीका युवा अगुवाहरूसहित सयौँको संख्यामा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।
हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त ७.८१३ किलोमिटर लामो सडकखण्डको फर्मेशन चौडाइ १२ मिटर र गाडी गुड्ने चौडाइ ७ मिटर रहने प्रस्ताव गरिएको छ । साथै, सडकको दुवैतर्फ २.५–२.५ मिटर सोल्जर चौडाइ रहने र सडकको डिजाइन गति प्रतिघण्टा ४० किलोमिटर तोक्ने प्रस्ताव पेस गरिएको छ ।







