चितवन । नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा पर्यटक सहजिकरणका लागि ‘Explore Madi’ नामक डिजिटल पोर्टल सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर सोमेश्वरगढीमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख तारा कुमारी काजी महतोले उक्त पोर्टल औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा नगर प्रमुख महतोले वेबसाइटको क्यूआर कोड सार्वजनिक गर्दै डिजिटल माध्यमबाट माडी क्षेत्रको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका अनुसार www.exploremadi.org वेबसाइटमा माडीका विभिन्न पर्यटकीय गन्तव्यहरूको लोकेसन, होमस्टे विवरण, सम्पर्क नम्बर लगायतका जानकारीहरू उपलब्ध छन् । साथै यस डिजिटल प्लेटफर्ममा पर्यटकीय क्षेत्रहरूको विस्तृत विवरण, लोकेसन तथा नक्सा जानकारी, होमस्टे र बसोबास सम्बन्धी विवरण, यातायात तथा कसरी पुग्ने जानकारी, इतिहास, संस्कृति र धार्मिक महत्वका सामग्रीहरू तथा सम्पर्क र सहजिकरण सेवासम्बन्धी जानकारीहरू एकै स्थानमा समेटिएका छन्, जसले पर्यटकहरूलाई सहज रूपमा आवश्यक सूचना प्राप्त गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । अब माडीका प्रमुख स्थानहरूमा क्यूआर कोड राखिनेछ, जसलाई स्क्यान गरी पर्यटकहरूले सजिलै वेबसाइटमार्फत जानकारी लिन सक्नेछन् ।

कार्यक्रम सम्पन्न भएको सोमेश्वरगढी माडी नगरपालिकामा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो । रिउ नदी माथि अवस्थित यो पहाडी किल्ला तथा शिव मन्दिर १९औँ शताब्दीको प्रारम्भमा सुरक्षात्मक चौकीका रूपमा निर्माण गरिएको मानिन्छ । यहाँबाट राप्ती र रिउ उपत्यका, चितवन राष्ट्रिय निकुञ्जको हरियाली जंगल तथा टाढासम्म फैलिएको महाभारत पर्वत शृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा रहेको सोमेश्वरगढी पर्यटकहरूका लागि शान्त र आकर्षक गन्तव्य बनेको छ ।
‘Explore Madi’ डिजिटल पोर्टल सञ्चालनमा आएपछि माडीको पर्यटन क्षेत्र अझ व्यवस्थित हुने, पर्यटकलाई आवश्यक जानकारी लिन सहज हुने तथा स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत माडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित यो पहल गरिएको हो ।



