१३ साउन, चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानी पूर्वअन्तर्राष्ट्रिय तीव्र गतिका बलर सोहेल तनवीरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । चितवन राइनोजले बुधबार सामाजिक सञ्जालमार्फत तनवीरलाई मुख्य प्रशिक्षकको रूपमा औपचारिक घोषणा गरेको हो ।
तनवीरका लागि चितवन राइनोज नौलो टोली होइन । यसअघिका दुवै संस्करणमा उनी यही टोलीबाट मुख्य बलरका रूपमा मैदान उत्रिएका थिए । पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ८ खेलमा १४ विकेट लिएका थिए भने सिजनको उच्च विकेटकर्ताको सूचीमा तेस्रो स्थान हासिल गरेका थिए । दोस्रो संस्करणमा भने उनले ५ खेलमा ८ विकेट हात पारेका थिए ।
पाकिस्तानका लागि सन् २००७ देखि २०१७ सम्म ५७ टी-२० अन्तर्राष्ट्रिय खेलमा ५४ विकेट लिएका अनुभवी बलर तनवीरसँग विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव छ । खेलाडीका रूपमा दुई सिजन मैदान सम्हालेका तनवीर अब तेस्रो संस्करणमा भने रणनीति निर्माण र प्रशिक्षणको मुख्य भूमिकामा देखिनेछन् ।




