२० असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा रातिको समयमा भने केही प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरू तथा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै , हिमाली भूभागका थोरै स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ ।
रातिको समयमा भने मौसममा थप बदलाब आउनेछ । कोसी , मधेस र वाग्मती प्रदेशमा साधारणतया बादल लाग्नेछ भने गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ । विशेष गरी राति गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




