१३ साउन, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको दुःखद घटना र त्यसक्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले देशको नागरिक र सरकारको प्रमुखको हैसियतले घटनाबाट आफू मर्माहत भएको बताउनुभएको छ । सामान्य विवादबाट सुरु भएको आक्रोशले ज्यान गुम्ने र समाजमा डरको वातावरण सिर्जना हुने अवस्था कसैले पनि नचाहेको उल्लेख गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि हालतमा सामान्य विषय हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभएको छ । उहाँले घटनाका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने र पीडित परिवारलाई सरकारका तर्फबाट यथासक्य चाँडो न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने विश्वास दिलाउनुभएको छ । घटनाको सुरुवातदेखि नै सरकारको उपस्थिति रहे पनि त्यो पर्याप्त नभएको स्वीकार गर्दै उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन गम्भीर समीक्षा गरी जिम्मेवार कदम चालिने बताउनुभयो ।
मानिसको पहिलो धर्म मान्छे जोगाउनु र सरकारको पहिलो धर्म नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्नु भएको स्मरण गराउँदै प्रधानमन्त्रीले सबै पक्षलाई संयमित हुन आग्रह गर्नुभएको छ । घाइते र पीडित परिवारलाई न्यायको अनुभूति गराउन सरकारले पूर्ण शक्तिका साथ काम गरिरहेकाले कसैलाई पनि उत्तेजित नहुन, रिस वा बदलाको भावना त्याग्न र सामाजिक सद्भाव कायम राख्न उहाँले विशेष अपिल गर्नुभएको छ ।




