माडी नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ११ जना व्यक्तित्व तथा संस्थाहरूलाई नगद तथा कदरपत्रसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा उत्कृष्ट स्वास्थ्यकर्मी कोपिला बोट , उत्कृष्ट करदाता पूर्व प्रधानाध्यापक सुरेसबहादुर थापा , र सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा नं. १ कार्यालय रहेका छन् ।
यसैगरी सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी , बसन्तपुर युनाइटेड क्लब , बसन्तपुर बजार टोल विकास संस्था , आफन्त नेपाल र न्यायिक समितिका महदत्त काफ्लेसहितका उत्कृष्ट कर्मचारीहरू पनि सम्मानित भएका छन् ।
०१ साउन, चितवन । माडी नगरपालिकाले बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ११ जना व्यक्तित्व तथा संस्थाहरूलाई नगद तथा कदरपत्रसहित भव्य सम्मान गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी , करदाता , विभिन्न शाखाका कर्मचारी , वडा कार्यालय र सामाजिक संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुने सबैलाई नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जनही नगद रु. ५ ,००० र कदरपत्र प्रदान गर्नुभएको थियो ।
माडी नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको सुखद अवसरमा आधारभूत स्वास्थ्य केन्द्र राधापुरमा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मी कोपिला बोटलाई नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालद्वारा जनही नगद रु. ५,००० र कदरपत्रसहित भव्य सम्मान प्रदान गरिँदै ।
माडी नगरपालिका क्षेत्रभित्र रहेर विगत लामो समयदेखि कुनै पनि जरिवाना वा बक्यौता नराखी नियमित र इमानदारीपूर्वक समयमै कर बुझाउँदै आउनुभएका उत्कृष्ट करदाता, पूर्व प्रधानाध्यापक एवं ज्येष्ठ नागरिक समाज माडीका आदरणीय अध्यक्ष शुरेसबहादुर थापालाई कदरपत्र र नगद रु. ५,००० पुरस्कारसहित सम्मान गरिएको ऐतिहासिक क्षण ।
माडी प्रज्ञा प्रतिष्ठानको सफल गठन, भव्य सांस्कृतिक उत्सवको कुशल व्यवस्थापन तथा माडीको पर्यटन प्रवर्द्धनका लागि उपयोगी पर्यटकीय डिजिटल पोर्टल ‘एक्स्प्लोर माडी’ निर्माणमा अहर्निश खटिएर पुर्याएको विशिष्ट प्राविधिक योगदानको उच्च कदर गर्दै सम्मानित हुनुभएका नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी ।
चितवनको भरतपुरमा भव्य रूपमा सम्पन्न भएको महिला फुटबल प्रतियोगितामा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै स्वर्णपदक हासिल गरी माडी नगरको खेलकुद क्षेत्रको शान र गौरव बढाउन सफल बसन्तपुर युनाइटेड क्लबको ऊर्जावान् महिला फुटबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिँदै ।
बसन्तपुर बजार क्षेत्रको नियमित सरसफाइ, चुस्त बजार व्यवस्थापन तथा व्यवस्थित सवारी पार्किङ कार्यमा उत्कृष्ट र उदाहरणीय नागरिक सक्रियता प्रदर्शन गरेबापत माडी नगरपालिकाद्वारा विशेष कदरसहित सम्मानित हुनुभएका बसन्तपुर बजार टोल विकास संस्थाका अध्यक्ष यमकुमार विश्वकर्मा ।
आर्थिक वर्ष २०८२/८३ मा नगरभित्रका सबै वडाहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै सबैभन्दा बढी रु. ३१ लाख १० हजार ८२१ रुपैयाँ २६ पैसा राजस्व संकलन गरी पहिलो स्थान हासिल गर्न सफल वडा नं. १ कार्यालयको तर्फबाट कदरपत्र ग्रहण गर्नुहुँदै वडा सचिव र कार्यपालिका सदस्यहरू ।
माडीको सीमा नाकाहरूमा निगरानी केन्द्र सञ्चालन गरी मानव बेचबिखन रोकथाम, लैङ्गिक हिंसाविरुद्ध सचेतना र उद्धार कार्यमा उल्लेखनीय सामाजिक योगदान पुर्याएबापत माडी नगरपालिकाद्वारा कदरपत्र र नगदसहित विशेष रूपमा सम्मानित हुनुहुँदै गैरसरकारी संस्था आफन्त नेपालकी माडी प्रमुख सपना श्रेष्ठ ।
सामुदायिक मेलमिलाप र स्थानीय न्यायिक निरूपणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत सम्मानित हुनुभएका मेलमिलाप नगर समिति संयोजक महदत्त काफ्ले। उहाँको कुशल र निष्पक्ष नेतृत्वमा नगरपालिकामा दर्ता भएका कुल १४७ विवादहरूमध्ये १३४ वटा विवादहरू आपसी समझदारी र मेलमिलापमार्फत निरूपण गरिएका छन् ।
वडा नं. ७ कार्यालयमा कार्यरत रहँदा कर्मचारी अभाव तथा बिदाका समयमा समेत कत्ति पनि विचलित नभई थप समय दिएर सेवाग्राहीलाई छिटो-छरितो सेवा प्रदान गर्दै उत्कृष्ट र इमानदार कार्यसम्पादन गरेबापत कदरपत्र र नगदसहित सम्मानित हुनुहुँदै कार्यालय सहयोगी आरती रानाभाट ।
माडी नगरपालिकाको ऐतिहासिक तथा प्राविधिक रूपमा अत्यन्तै जटिल मानिएको भू-वर्गीकरण तथा भू-उपयोग योजना सम्बन्धी नापी कार्यलाई कुशलतापूर्वक र समयमै सम्पन्न गराउन महत्त्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेबापत नगरद्वारा सम्मानित हुनुभएका अमिन सहायक कुलदेव पंगेनी ।
नगरपालिकाको आन्तरिक राजस्व संकलन कार्यलाई अत्यन्तै प्रभावकारी र व्यवस्थित बनाउँदै सेवाग्राहीहरूसँग सधैं मधुर मुस्कानसहितको मर्यादित सेवा प्रवाह र सेवाग्राहीमैत्री व्यवहार प्रस्तुत गरेबापत उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएकी सामाजिक परिचालक ममता चौधरी ।