५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार गरिब, किसान र मजदुरविरोधी रहेको आरोप लगाउनुभएको छ । शुक्रबार पार्टीको सदस्यता नवीकरण एवं वितरण अभियानको उद्घाटन गर्दै संयोजक प्रचण्डले सरकारको नीति, कार्यक्रम, बजेट र निर्णयहरू सबै गरिब जनताको विरुद्धमा केन्द्रित रहेको दाबी गर्नुभएको हो । सरकार नेपालका गरिब, किसान र मजदुरका साथै उत्पीडित समुदायको विरुद्धमा रहेको कुरा प्रष्ट देखिएको उल्लेख गर्दै उहाँले यो सरकार उच्च वर्गको हित रक्षा गर्नमा मात्रै लागिपरेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले श्रमिक, गरिब मजदुर र जनताका मौलिक अधिकारका साथै ट्रेड युनियनलगायतका अधिकारविरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारका यस्ता गतिविधि विरुद्ध सडक र सदन दुवै तर्फबाट कोसिसहरू अगाडि बढिरहेको जानकारी गराउँदै उहाँले आगामी दिनमा सदनमा रहेका सबै प्रतिपक्षी दलहरूलाई एकीकृत गरेर लैजाने रणनीति रहेको स्पष्ट पार्नुभयो । देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अब गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीको आगामी महाधिवेशनसम्म पुग्दा दलहरूबीच सहकार्यको वातावरण बन्ने विश्वास व्यक्त गर्दै संयोजक प्रचण्डले त्यसका लागि राजनीतिक छलफलहरू तीव्र पारिएको जानकारी दिनुभयो । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र मधेसकेन्द्रित जसपालगायतका दलहरूसँग लगातार कुराकानी भइरहेको र स्वयं सत्तामा रहेका पार्टीका नेताहरूसँग पनि विभिन्न रूपमा छलफल चलिरहेको उहाँले खुलासा गर्नुभयो । आफ्ना केही सीमा र कमजोरीहरूलाई सच्याएर अगाडि बढ्न सकेको खण्डमा राजनीतिक लक्ष्य प्राप्त गर्न सकिने धारणा समेत उहाँले सो अवसरमा व्यक्त गर्नुभयो ।



