१६ असार, चितवन । पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित वरण्डाभार जैविक मार्ग क्षेत्रमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालनमा ल्याइएको छ । नेपालमा पहिलोपटक चितवनलाई सफारी पर्यटनको राजधानी बनाउने अभियानका साथ यो नयाँ पर्यटकीय गतिविधि सुरु गरिएको हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा मात्र सीमित रहेको सफारीलाई अब वन उपभोक्ताहरूको सक्रियतामा स्थानीय स्तरमा विकास गर्न लागिएको हो ।
यो विशेष सफारी रत्ननगरको दक्षिण क्षेत्रमा पर्ने पञ्चकन्या सामुदायिक वन तथा कालिका नगरपालिकाभित्र पर्ने चर्तुमुखी र भीमवली वनको संयुक्त पहलमा सुरु भएको हो । तीनवटै वनले मिलेर करिब ३० किलोमिटर लामो जङ्गल मार्ग तयार पारी परीक्षणका रूपमा रात्रिकालीन सफारी अगाडि बढाएका हुन् । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी र पञ्चकन्याका अध्यक्ष गोविन्द स्याङ्तानका अनुसार यो परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा अघि बढाइनेछ ।
विशेष गरी रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले यो सफारी पर्यटकका लागि निकै आकर्षक बन्नेछ । जैविक मार्ग भएकाले यस क्षेत्रमा एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु जस्ता वन्यजन्तु सजिलै देख्न सकिन्छ । बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय र क्षेत्रीय होटल सङ्घ सौराहाको सहकार्यमा यो अभियान चलेको हो । सौराहाका होटल व्यवसायीहरूले पर्यटकलाई यस सफारीमा लैजाने प्रतिबद्धता जनाएका छन्, जसले स्थानीय अर्थतन्त्रमा राम्रो प्रभाव पार्नेछ । यो सफारी दैनिक बेलुका ५ देखि ९ बजेसम्म सञ्चालन हुनेछ भने प्रतिजीप ५०० रुपैयाँ शुल्क तोकिएको छ ।




