१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ वटा गोहीलाई पछिल्लो ४५ वर्षको अवधिमा विभिन्न नदीहरूमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता नेपालका विभिन्न आठ वटा नदीमा यी गोहीहरूलाई छाडिएको हो ।
यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी १ हजार ५६० वटा गोही छाडिएको छ । निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा मात्रै अहिलेसम्मकै बढी २२५ वटा गोही नदीमा छाडिएको छ, जसमा १४ वटा भाले र २११ वटा पोथी रहेका छन् । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलिएका गोहीहरूलाई यस वर्ष नदीमा छाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार हालसम्म नारायणी नदीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ । यसरी हरेक वर्ष गोही नदीमा छाड्ने गरेको भए तापनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा जम्मा ३६६ वटा मात्र गोही भेटिएका थिए । हाल प्रजनन् केन्द्रमा ५०० वटा गोहीहरू रहेका छन् । यस वर्ष सङ्कलन गरिएको १९६ वटा अण्डाबाट १४६ वटा बच्चा कोरलिएका छन् ।
घडियाल गोही हाल विश्वमै सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै सीमित भएका छन् । सन् १९४० को दशकमा विश्वमा यसको सङ्ख्या करिब १० हजार रहेकोमा सन् १९७० सम्म आइपुग्दा यसको २ प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा बाँकी रहेपछि यसको संरक्षणमा चासो बढेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि देशभर घडियालको संख्या १०० भन्दा कम रहेको अवस्थामा सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थको उत्खनन् तथा प्रदूषण जस्ता कारणहरूले गर्दा गोहीहरू आफ्ना प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको सूचना अधिकारी थापामगरले बताउनुभयो ।




