२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकाल्दै सुखद सुरुवात गरेको छ ।
३ खेलाडीले रातो कार्ड पाएको निकै रोमाञ्चक र तनावपूर्ण खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो रंगशालाको कीर्तिमान बनाएको मेक्सिकोको आइकोनिक एज्टेका स्टेडियममा भरिभराउ दर्शकमाझ मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक-एक गोल गरे । दुई गोल भएको यस ऐतिहासिक खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए ।
खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाति अग्रता दिलाएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको फाइदा उठायो र इरिक लिराको पासलाई जुलियनले उत्कृष्ट गोलमा परिणत गरे । खेलको ४२औं मिनेटमा उनै जुलियनको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो । दोस्रो हाफको सुरुवातमै विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित हुन पुग्यो ।
खेलको ६७औं मिनेटमा राउल जिमेनेजले अर्को गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेल झन् तनावपूर्ण बन्दै जाँदा ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए, जसका कारण दक्षिण अफ्रिका ९ खेलाडीमा सिमित भयो । दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएपछि उद्घाटन खेलमै रातो कार्ड पाउने खेलाडीको संख्या ३ पुग्यो ।
यसै ऐतिहासिक खेलमा मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै मेक्सिको र उत्तर अमेरिकाकै सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान रचेका छन् । उनी फिफा विश्वकप २०२६ का सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्र विश्वकप इतिहासमै खेल खेल्ने छैटौं कान्छा खेलाडी बनेका छन् । यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण ३ अंक जोड्दै नकआउट चरणको यात्रा सहज बनाएको छ भने पराजित दक्षिण अफ्रिका सुरुवातबाटै दबाबमा परेको छ । यसै समूहको दोस्रो खेल चेक रिपब्लिक र दक्षिण कोरियाबीच हुँदैछ ।



