चितवन । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिकाले आर्थिक अनुशासन र पारदर्शितामा उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार माडीको बेरुजु दर मात्र ०.१६ प्रतिशत देखिएको हो । कुल २ अर्ब १२ करोड १ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा नगरपालिकाको बेरुजु रकम जम्मा ३३ लाख ४५ हजार रुपैयाँ मात्र फेला परेको प्रतिवेदनमा उल्लेख छ । यसले नगरको प्रशासनिक उत्तरदायित्व र स्वच्छ आर्थिक अभ्यासलाई बलियोसँग प्रमाणित गर्छ ।
चितवनका अन्य स्थानीय तहहरूमध्ये राप्ती नगरपालिकाको १.४३ प्रतिशत, इच्छाकामना गाउँपालिकाको १.०७ प्रतिशत, कालिका नगरपालिकाको ०.६३ प्रतिशत र खैरहनी नगरपालिकाको ०.५३ प्रतिशत बेरुजु रहँदा माडीले जिल्लाभरिमै सबैभन्दा राम्रो नतिजा निकालेको हो । यद्यपि, अघिल्ला वर्षहरूदेखि सञ्चित हुँदै आएको पुरानो बक्यौताका कारण नगरको समग्र बेरुजुको अंक भने यस पटक पनि केही उच्च नै देखिने बुझिएको छ ।



