१७ वैशाख, काठमाडौं । सरकारले हालै अध्यादेश ल्याएपछि विपक्षी दलहरू सक्रिय बनेका छन् । यही सन्दर्भमा विपक्षी दलहरूको बैठक आज बस्न लागेको छ । बैठक आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा आयोजना हुने तय भएको छ ।
यसअघि बुधबार विपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।
आज पुन : एमालेको कार्यालयमा बस्ने बैठकबारे नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् । उनका अनुसार सरकारद्वारा ल्याइएका अध्यादेशका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूबीच छलफल जारी राखिएको हो ।
सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरूबीच सहकार्य बढेको देखिएको छ । आजको बैठकमा पनि ती अध्यादेशका विषयमा विस्तृत छलफल हुने नेताहरूले बताएका छन् । यता, सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज संविधानविद्हरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।



