२० असार, काठमाडौँ । अर्थमन्त्री डा . स्वर्णिम वाग्लेले नेपाल ‘ग्रे’ बाट ‘ब्ल्याक लिस्ट’ मा झर्ने उच्च जोखिममा रहेको बताउनुभएको छ । शनिबार राष्ट्रियसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक , २०८३’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले तत्काल वित्तीय सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो ।
अर्थमन्त्री वाग्लेका अनुसार नेपाल २०८१ फागुनदेखि नै ग्रे लिस्टमा रहेको छ । यदि तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसकिए मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने र त्यसो भएमा नेपाल सोमालिया वा हाइटी जस्तो मुलुकको दर्जामा झर्ने उहाँले सुनाउनुभयो । ब्ल्याक लिस्टमा पर्नु भनेको बाँकी दुनियाँसँग नेपालको तमाम वित्तीय सम्बन्धहरू टुट्नु भएको भन्दै उहाँले रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउन र अन्तर्राष्ट्रिय साख उकास्न यो विधेयक महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
विगतमा कानुनको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा मुलुक ग्रे लिस्टमा परेको स्वीकार गर्दै उहाँले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको दाबी गर्नुभयो । साथै , सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई कसैको विरुद्ध प्रतिशोधको हतियार नबनाइने र नयाँ सरकार निर्माण भएपछि नेपाललाई यो संकटबाट निकाल्न उल्लेख्य प्रगति भइरहेको उहाँले जानकारी दिनुभयो ।




