३ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीपीडितहरूको रकम फिर्ताका लागि राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले राज्यकोषबाट समस्याग्रस्त सहकारीका पीडितहरूको रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो । समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म सरकारले राज्यकोषको प्रयोग नगरेको स्पष्ट पार्दै उहाँले यो रकम संस्थाकै सञ्चालक र व्यवस्थापकहरूबाट असुल गरिएको जानकारी दिनुभयो ।
संसदलाई सम्बोधन गर्दै मन्त्री रावलले पछिल्लो तीन महिनामा मात्रै विभिन्न आठवटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरिएको विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार रुजु भएको १० हजार र सोभन्दा मुनिका एक हजार ४५२ बचतकर्ताहरूको ५९ लाख ४ हजार ६०० रुपैयाँ बचत फिर्ता भइसकेको छ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, लेखा समिति र ऋण उपसमितिका पदाधिकारीहरूलाई जवाफदेही बनाएर रकम उठाउने कार्यलाई प्राथमिकता दिएको छ ।
यसै गरी पछिल्लो तीन महिनाभित्र तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भइसकेको जानकारी मन्त्री रावलले संसदमा गराउनुभयो । सो रकम सम्बन्धित संस्थाका जिम्मेवार पदाधिकारीहरूबाटै व्यवस्थापन गरिएको हुनाले राज्यकोषको रकम खर्च भएको भनी फैलाइएको भ्रममा नपर्न उहाँले सम्पूर्ण सांसद सदस्यहरूलाई अनुरोध समेत गर्नुभयो । सरकारले पीडितहरूको बचत फिर्ता गराउन कानुनी दायराभित्रै रहेर सम्पत्ति र ऋण असुलीको प्रक्रियालाई अझै प्रभावकारी बनाउँदै लाने सङ्केत गरेको छ ।




