३० जेठ, काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि नयाँ निर्देशिका जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका स्वीकृत भई सार्वजनिक गरिएको हो । यस व्यवस्थाबाट किसानले बाली लगाउनुपूर्व नै आफ्नो लागत, सम्भावित आम्दानी र बजार अवस्थाको मूल्याङ्कन गरी बाली छनोट गर्न सक्नेछन् । किसानले पाउने मूल्य पहिले नै निर्धारण हुने भएकाले सोही आधारमा खेती गर्ने वा अन्य विकल्प रोज्ने निर्णय लिन सहज हुने विश्वास मन्त्रालयले लिएको छ ।
यस अन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ भने आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य समेत निर्धारण भइसकेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको प्रतिक्विन्टल रु तीन हजार ८६० कायम गरिएको छ ।
यसैगरी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढाएको छ । यसअघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएकोमा आगामी फागुन मसान्तभित्र मूल्य निर्धारणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिएको छ । उखुको हकमा भने आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम खरिद मूल्य यसअघि नै निर्धारण भइसकेको र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उखुको न्यूनतम खरिद मूल्यसम्बन्धी प्रस्ताव आगामी कात्तिक मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयले जनाएको छ ।




