२४ जेठ, काठमाडौँ । नेपाल र भारतबिच अनलाइनमार्फत व्यक्तिगत रूपमा सिधै रकम ट्रान्सफर गर्न सकिने अत्याधुनिक सेवाको सुरुवात भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूको सहकार्यमा सञ्चालनमा आएको यो क्रशबोर्डर फन्ड ट्रान्सफर सुविधाले दुई देशबिचको बैङ्किङ कारोबारलाई निकै सहज र डिजिटल बनाएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल मुलुकका करिब ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यो अन्तरदेशीय डिजिटल वित्तीय सेवा उपलब्ध गराउन थालिसकेका छन् । सेवाग्राहीहरूले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ एप अथवा कनेक्ट आईपीएसको मोबाइल एप प्रयोग गरेर सहजै एक-अर्को देशमा रकम पठाउन सक्छन् । यस प्रक्रियामा रकम ट्रान्सफर गर्नका लागि बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग अनिवार्य गरिएको छ ।
यो नयाँ सुविधा हाल नेपाल र भारत दुवैतर्फका मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै ‘लाइभ’ भएको छ । विगत एक सातादेखि आन्तरिक रूपमा सफल परीक्षण भइरहेको यो सेवालाई एनसीएचएलले आगामी दिनमा अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने योजना बनाएको छ । यस सेवाका लागि निश्चित दैनिक तथा मासिक कारोबार सीमा र सेवा शुल्क समेत निर्धारण गरिएको छ, जसको औपचारिक घोषणा अबको केही दिनभित्रै एनसीएचएलले गर्ने तयारी गरिरहेको छ ।
यसैबिच, नबिल बैङ्कले भने आफ्नो मोबाइल बैङ्किङ एप ‘एन बैङ्क’ मार्फत ‘नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी (P2P) रेमिटेन्स’ सेवाको आधिकारिक सुरुवात नै गरिसकेको छ । यस सेवा अन्तर्गत नबिल बैङ्कमा खाता रहेका भारतीय नागरिकहरूले भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्कालै मोबाइल एपबाट रकम पठाउन सक्नेछन् । साथै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिक दुवैले नेपालमा रहेका आफ्ना आफन्तको नबिल बैङ्क खातामा सोझै रकम ट्रान्सफर गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।
कारोबार सीमाको कुरा गर्दा, बैङ्कले नेपालबाट भारततर्फ रकम पठाउनका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको अधिकतम सीमा तोकेको छ । अर्कोतर्फ, भारतबाट नेपाल रकम पठाउनका लागि प्रति दिन दुई लाख भारुको सीमा तोकिएको भए पनि मासिक रूपमा भने कुनै सीमा नलगाइएकाले असीमित रूपमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।




