२० जेठ, काठमाडौं । प्रहरीले हात्तीको दाह्रासहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार, बिक्री वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजिव महर्जन, आयुष महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहोरा र सन्तबहादुर भुजेल रहेका छन् । उनीहरूलाई काठमाडौंको मनमैजु क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूले हात्तीको दाह्रालाई टुक्रा बनाएर खाली जग्गामा गाडेर राखेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल समेत बरामद भएको छ । पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।




