१२ जेठ, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर एवं प्रहरी जवान पुनम चन्दलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रधान कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चन्दलाई आफू गैरहाजिर रहनुको चित्तबुझ्दो कारण र स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन सूचित गरेको हो ।
बिनासूचना गैरहाजिर रहेको आरोप
राष्ट्रिय प्रहरी प्रतिष्ठान अन्तर्गतको शारीरिक सुगठन तथा खेलकुद शिक्षालयमा दरबन्दी भई नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिताहरू खेल्दै आएकी चन्द गत २०८२ चैत १५ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा भनिएको छ :
सम्बन्धित कर्मचारी आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा एवं प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले यो अन्तिम सूचना प्रकाशित गरिएको छ ।
तोकिएको म्याद (बाटोको म्याद बाहेक ७ दिन) भित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाउनेसम्मको विभागीय कारबाही प्रक्रिया अघि बढाइने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

हाल अस्ट्रेलियामा छिन् चन्द
घरेलु मैदानमा आयोजना भइरहेको ‘काभा महिला भलिबल च्याम्पियनसिप’ को प्रारम्भिक बन्द प्रशिक्षणमा केही समय सहभागी भएकी चन्द त्यसलगत्तै अस्ट्रेलिया प्रस्थान गरेकी थिइन् । उनी हाल अस्ट्रेलियामै रहेको बुझिएको छ ।
यता, चन्द सम्मिलित नेपाली राष्ट्रिय टोली भने काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपाली टोलीले आगामी बिहीबार सेमिफाइनलमा इरानको सामना गर्दैछ ।




