१८ बैशाख, काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने बहानामा ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीका अनुसार उनीहरूले जापान, कोरिया, अमेरिका लगायत देशमा राम्रो तलब हुने रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट करिब रु ३ करोड १४ लाख ठगी गरेका हुन् ।
पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।
प्रहरीका अनुसार लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट रु १ करोड २ लाख असुलेका थिए । त्यसैगरी, थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट रु १ करोड ५० लाख ठगेका छन् । शेर्पाले फ्रान्स पठाइदिने प्रलोभनमा पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेको खुलेको छ । उनीहरूलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



