काठमाडौं | चितवनमा गरिएको सवारी साधनको प्रदूषण परीक्षणका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले वैशाख २४ र २५ गते सञ्चालन गरेको अभियानमा कुल १७३ वटा सवारी साधनको परीक्षण गर्दा ती साधनहरू कारबाहीमा परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार यातायात व्यवस्था ऐनको प्रावधान बमोजिम यो कारबाही गरिएको हो । चितवनमा गुड्ने सवारीसाधनमा प्रदूषणको मात्रा उच्च देखिएपछि काठमाडौंबाट उपकरण मगाएर गरिएको यो नमुना परीक्षणमा करिब ३२ प्रतिशत सवारी साधनले मापदण्डभन्दा बढी धुवाँ फ्याँक्ने गरेको पाइएको छ ।
यस परीक्षणका क्रममा जिल्लाका विभिन्न विद्यालयका २५ वटा बसहरूको पनि नमुना जाँच गरिएको थियो, जसमा आठ वटा बसमा अत्यधिक प्रदूषण भेटिएको छ । चितवनमा हाल प्रदूषण नाप्ने यन्त्र नभएकाले आगामी वर्ष स्थानीय पालिकाहरूलाई उक्त उपकरण खरिद गर्न आग्रह गरिएको छ । अत्यधिक सवारी चाप हुने यस जिल्लामा प्रदूषण नियन्त्रणका लागि यस्ता उपकरणको अनिवार्य आवश्यकता रहेको प्रहरीले जनाएको छ । टोलीले सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न र सडक दुर्घटना न्यूनीकरण गर्न चालक तथा सवारी धनीहरूलाई विशेष आग्रह समेत गरेको छ ।
यसैगरी, विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै चितवनमा स्कुल बसहरूको यान्त्रिक परीक्षण तथा चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा यातायात व्यवस्था कार्यालय, प्याब्सन भरतपुर, कलेज अफ मेडिकल साइन्सेस र चितवन अटोमेकानिकल व्यवसायी संघको सहकार्यमा यो अभियान चलाइएको थियो। भरतपुर क्षेत्रका १४४ वटा स्कुल बसहरूले ‘स्कुल बस निर्देशिका, २०७४’ पालना गरे-नगरेको विषयमा अनुगमन गरिएको छ । मापदण्ड पूरा नगर्ने बसहरूलाई सुधार गरेर मात्रै विद्यार्थी बोक्न निर्देशन दिइएको छ भने कार्यक्रममा करिब २५० जना चालक तथा परिचालकहरूको स्वास्थ्य जाँच समेत गरिएको छ । यो पहलले सडक सुरक्षा र विद्यार्थीहरूको यात्रालाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ ।




