२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका वडा नं. १ मा मानवीय सहयोगका दुई महत्वपूर्ण कार्य अघि बढेका छन् । एकातर्फ १० वर्षीया सजिना परियार शल्यक्रियापछि विद्यालय भर्ना भएकी छन् भने अर्कोतर्फ क्यान्सरपीडित दम्पतीका लागि नयाँ पक्की घर निर्माण सुरु गरिएको छ ।
माडी–१ भंगताकी सजिना परियार करिब ६ पटकको शल्यक्रिया र निरन्तर उपचारपछि आफैं हिँड्न सक्ने अवस्थामा पुगेकी हुन् । बुधबार उनलाई बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना गरिएको छ । उनको उपचारमा वडाध्यक्ष अमित कुमार लामा, अष्ट्रियामा रहेका माया लामा मुलर, एल्मर मुलर र ओल्फगन बार्टीको महत्वपूर्ण सहयोग रहेको छ। आगामी असारमा उनको सातौं शल्यक्रिया हुने तयारी छ । ‘धन्यवाद नेपाल’ र ‘Let The Children Walk’ को सहयोगमा उनले अब नियमित अध्ययन गर्ने अवसर पाएकी छन् । साथै, शिक्षा पूरा भएपछि रोजगारीको अवसर दिने घोषणा पनि गरिएको छ ।
यसैबीच, माडी–१ अम्बाबासमा बसोबास गर्ने क्यान्सरपीडित किसुनी महतो र प्रेमकुमार महतोका लागि नयाँ पक्की घर निर्माण गरिने भएको छ । लामो समयदेखि खरको कच्ची झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका महतो दम्पतीलाई सुरक्षित आवास उपलब्ध गराउन वडाध्यक्ष अमित लामाले पहल गर्नुभएको हो ।
उहाकी दिदी–भिनाजु अष्ट्रियन नागरिक माया मुलर र एल्मर मुलरको करिब ६ लाख रुपैयाँको सहयोगमा ३ कोठे पक्की घर निर्माण हुन लागेको हो । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका दम्पतीलाई वर्षा र चिसोबाट जोगाई सुरक्षित बसोबास उपलब्ध गराउने उद्देश्यले यो कार्य सुरु गरिएको जनाइएको छ ।



