२२ वैशाख, ठोरी । पर्साको पश्चिमी क्षेत्रमा रहेको ठोरी प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण सम्भावनायुक्त पर्यटकीय स्थल हो । तीनतर्फ वन क्षेत्रले घेरिएको यस स्थान नजिकै रहेको ठोरी नाकाले नेपाल–भारत आवतजावत, व्यापार र पर्यटनमा सहयोग पुर्याउँदै आएको छ ।
हरियाली जंगल, शान्त वातावरण र वन्यजन्तु अवलोकनको अवसरका कारण ठोरी पर्यटकको आकर्षण बन्दै गएको छ । उचित प्रचार–प्रसार र व्यवस्थापन हुन सके यो प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।
तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि ठोरीवासी वर्षौँदेखि खानेपानी समस्याबाट पीडित छन् । मिल चोक र विशाल चोकका करिब ४५ घरधुरीमा धारा वा स्थायी पानी स्रोत नहुँदा स्थानीय खोलाको पानी प्रयोग गर्न बाध्य छन् । गाउँपालिकाभरि करिब एक हजार घरधुरी यस समस्याबाट प्रभावित छन् ।
पानी अभावका कारण दैनिक जीवन मात्र होइन, खेतीपाती र पर्यटन विकाससमेत प्रभावित बनेको छ । स्थानीयवासीले आधारभूत सुविधा सुधार नभएसम्म ठोरीको समग्र विकास र पर्यटन प्रवर्द्धनमा चुनौती रहने बताएका छन् ।



