आजबाट माडीको सञ्चार क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर एसएमएस खबर डटकम डिजिटल पत्रिका र एसएमएस अनलाइन रेडियोको औपचारिक शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्छौं ।
विगत ७ वर्षदेखि ‘एस.एम.एस. टिभी’को माध्यमबाट तपाईंहरूसँग जोडिँदै आएको हाम्रो यात्राले अब थप परिपक्वता र विस्तार पाएको छ । समयसँगै प्रविधि परिवर्तन भइरहँदा हामी पनि डिजिटल माध्यमलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्दै समाचार, सूचना र मनोरञ्जनलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयासमा छौं । अब तपाईंहरूले हाम्रो वेबसाइटमार्फत २४ सै घण्टा अनलाइन रेडियो सुन्न सक्नुहुनेछ, जहाँ संगीत, सूचना र स्थानीय आवाज निरन्तर प्रवाह भइरहनेछ ।
हाम्रो मूल उद्देश्य स्पष्ट छ—सत्य, निष्पक्ष र जनमुखी पत्रकारिता। माडीका हरेक मुद्दा, विकासका प्रयास, चुनौती, सम्भावना र यहाँको मौलिक कला–संस्कृतिलाई प्राथमिकतामा राख्दै हामी समाचार का साथ कार्यक्रमहरु सम्प्रेषण गर्नेछौं । साना ठाउँका साना भनिएका विषयहरूलाई पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने जिम्मेवारी हामीले महसुस गरेका छौं ।
हामी विश्वास गर्छौं—मिडिया केवल सूचना दिने माध्यम मात्र होइन, समाज परिवर्तनको शक्तिशाली साधन पनि हो । त्यसैले हामी सधैं जिम्मेवार, तथ्यमा आधारित र सन्तुलित सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । तपाईंहरूको आवाज, गुनासा, सुझाव र सिर्जनालाई स्थान दिनु नै हाम्रो प्राथमिकता हुनेछ ।
प्रवासमा रहनुभएका माडीबासीदेखि गाउँमै हुनुहुने सबैलाई एउटै प्लेटफर्ममा जोड्ने हाम्रो यो प्रयासमा तपाईंहरूको साथ र विश्वास अपरिहार्य छ । तपाईंहरूको साथले नै हाम्रो यात्रा अझ मजबुत बन्नेछ ।
आउनुहोस्, सत्य, विश्वास र जिम्मेवारीमा आधारित पत्रकारिताको यात्रामा हामी सबै सँगै अघि बढौँ ।



