२६ साउन माडी । अध्ययन तथा वैदेशिक रोजगारीका निम्ति हाल माल्दिभ्सको राजधानी माले सहरमा रहनुभएकी पत्रकार एवं महिला नेतृ सरिता महतो (अपेक्षा) ले माडी-३, पौहारीका बालबालिकाहरूलाई स्टेसनरी सामग्री वितरण गर्नुभएको छ ।
महतोले आफू जन्मेहुर्केको र बाल्यकाल बिताएको माइती गाउँ पौहारीका १० जना बालबालिकाहरूलाई रु. ५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । बाढीबाट विस्थापित भई हाल माडी नगरपालिका पछाडि (शिविरटोल) मा बस्दै आएका कक्षा १ देखि ४ सम्म अध्ययनरत बालबालिकाहरूलाई उक्त सहयोग प्रदान गरिएको हो ।
अभिभावकहरूको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच माडी-३ का वडाध्यक्ष पुरन महतो र सरिताका ८ वर्षका सुपुत्र स्वराज शाहले संयुक्त रूपमा स्टेसनरी सामग्रीको झोला बालबालिकाहरूलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका क्रममा बोल्दै पौहारी शिविरटोलका अगुवा राजकुमार नेपालीले विदेशमा रहेर पनि आफू जन्मेहुर्केको गाउँ र त्यहाँका बालबालिकालाई नबिर्सेको भन्दै महतोप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र सम्झनाको निरन्तरताका लागि अनुरोध गर्नुभएको थियो ।







