२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकमाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दोस्रो हाफको १४ मिनेटभित्र दुई गोल फर्काउँदै दक्षिण कोरियाले विश्वकपमा सुखद सुरुवात गरेको हो । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकियाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजय भोग्नुपर्यो । खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन ।
दोस्रो हाफको ५९औं मिनेटमा चेकियाका कप्तान लादिस्लाभ क्रेज्कीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर चेक रिपब्लिकको त्यो खुसी धेरै समय टिक्न पाएन । खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई चेक रिपब्लिकका थोमस सुसेकले हेडरमार्फत जाली चुमाएका थिए, तर रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि चेकिया पुनः अग्रता लिनबाट चुक्यो ।
त्यसको ठीक तीन मिनेटपछि अर्थात् खेलको ८०औं मिनेटमा दक्षिण कोरियाका ओएच ह्योङयुले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन र दक्षिण कोरियाले ऐतिहासिक जित पक्का गर्यो । विश्वकप इतिहासमा दक्षिण कोरियाले चेकियाविरुद्ध जित निकालेको यो पहिलो पटक हो भने १२औं पटक विश्वकप खेलिरहेको कोरियाले पहिलो खेलमै जित हात पारेको यो चौथो पटक हो । यस जितसँगै ३ अंक जोडेको दक्षिण कोरिया समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ भने समान अंक भएको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका पुछारमा रहेका छन् ।




