१५ जेठ, काठमाडौं । सरकारले नयाँ बजेटमार्फत आन्दोलनका घाइते र स्वास्थ्यकर्मीहरूका लागि विशेष राहतको घोषणा गरेको छ । बजेट वक्तव्य अनुसार ‘जेन्जी आन्दोलन’ का क्रममा घाइते भएका नागरिकहरूलाई राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । यसका साथै, गम्भीर घाइते भई नियमित जीवनयापनमा समस्या भएकाहरूलाई मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने नीति सरकारले बजेटमा समेटेको छ ।
अर्कोतर्फ, स्वास्थ्य क्षेत्रमा खटिने नर्सहरूको मनोबल उच्च बनाउन लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गरिएको छ । अब सरकारी अस्पतालमा कार्यरत नर्सहरूले पाउँदै आएको रात्रिकालीन डिउटी भत्ता (नाईट डिउटी एलाउन्स) लाई सतप्रतिशत वृद्धि गरी दोब्बर बनाइएको छ ।




