१५ भदौ, चितवन । माडीको बरुवामा ३१ औँ स्टार कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्टार स्पोर्ट्स युवा क्लब, माडी-१ बरुवा बजारको आयोजनामा बरुवास्थित स्टार फुटबल चौरमा भदौ १९ गते कृष्ण जन्माष्टमी पर्वको दिन उद्घाटन भई भदौ २९ गते हरितालिका तीजका दिन फाइनल स्पर्धा हुने गरी प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सोमबार साँझ बरुवामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको खेल तालिका (ट्राइसिट) सार्वजनिक गर्दै सम्पूर्ण तयारीबारे जानकारी दिएको छ । वि.सं. २०५२ देखि निरन्तर सञ्चालन हुँदै आएको देशकै पुराना प्रतियोगिताहरूमध्येको यस संस्करणमा माडीका ३ सहित विभिन्न क्षेत्रका १० वटा टोलीहरूले सहभागिता जनाउनेछन् । प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुरस्थित नारायणी मोटर्स युनिक फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेको अवस्थालाई मध्यनजर गर्दै हरेक खेल सुरु हुनुअघि शोक प्रकट र मौनधारण गरिने क्लबका प्रणेता तथा माडी-१ का वडाध्यक्ष अमित लामाले जानकारी दिनुभएको छ । हाल खेल सञ्चालनका लागि मैदान तयारी लगायतका कार्यहरू तीव्र पारिएको छ ।







