१३ भदौ, चितवन । रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता हुनुभएका माडीका युवा हाइड्रो इञ्जिनियर बिमल काफ्लेको निधन भएको पुष्टि भएको छ । गत भदौ १० गते रसुवामा आएको अप्रत्यासित बाढीपहिरोपछि सम्पर्कविहीन हुनुभएका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो । शनिबार दिउँसो फेला परेको शवको आफन्त तथा सम्बन्धित पक्षबाट सनाखत भएपछि उहाँको मृत्यु भएको आधिकारिक पुष्टि भएको हो ।
माडी ७, देवेन्द्रपुर स्थायी घर भई रसुवामा हाइड्रो इञ्जिनियरका रूपमा कार्यरत रहनुभएका काफ्ले बाढी आएको दिनदेखि नै बेपत्ता हुनुहुन्थ्यो । सो बाढीमा परी माडीबाट हालसम्म बेपत्ता हुनेमा उहाँ एकजना मात्रै रहनुभएकोमा अहिले मृत्युको खबर पुष्टि भएपछि समग्र माडी क्षेत्र शोकमा डुबेको छ । स्थानीयवासीले उहाँको असामयिक निधनले काफ्ले परिवारसँगै सिङ्गो माडीले एक अत्यन्तै होनहार, दक्ष र प्रतिभाशाली युवा प्राविधिक गुमाएको भन्दै गहिरो दुख व्यक्त गरेका छन् ।







