२५ साउन, चितवन । भरतपुर-माडी जोड्ने हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढेको छ । प्रारम्भिक प्रक्रियाअन्तर्गत सडकको दायाँ-बायाँ पर्ने १ हजार ९९६ वटा रुखको छपान तथा नम्बरिङको काम सम्पन्न भएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार इआइए प्रतिवेदनमा रुख कटान आवश्यक देखिएमा मन्त्रिपरिषद्को निर्णयबाट मात्र कटान प्रक्रिया अघि बढ्नेछ । कानुनमन्त्रीको पहल तथा भौतिक पूर्वाधार र वनमन्त्रीको स्थलगत अवलोकनपछि रोकिएको यो आयोजनाले गति लिएको हो ।
परामर्शदाता कम्पनीले आगामी दशैँअघि नै इआइए प्रतिवेदन बुझाउने लक्ष्य राखेको छ । यसका लागि भदौ पहिलो वा दोस्रो साताभित्रै सार्वजनिक सुनुवाइ गरिनेछ । लामो समयदेखि जीर्ण सडकका कारण सास्ती भोग्दै आएका माडीवासीमा सडक विस्तार हुने भएपछि आशा पलाएको छ ।







