११ साउन, माडी (चितवन) । चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण कार्य पूरा गरेरै छाड्ने बताउनुभएको छ । माडीमा सञ्चालित महायज्ञ कार्यक्रममा बोल्दै उहाँले हाल निकुञ्ज क्षेत्रमा रूख गणनाको काम भइरहेको र त्यसपछि सार्वजनिक सुनुवाइ प्रक्रिया अघि बढ्ने जानकारी दिँदै जंगलको सडक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
वर्षौँ बितिसक्दासमेत जनताले बाटो माग गर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै मन्त्री गौतमले आगामी पाँच वर्षभित्र सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकास योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चुनाव सकिएकाले अब राजनीति छाडेर माडीको समग्र विकासका लागि सबैलाई एक ठाउँमा उभिन आह्वान गर्नुभयो ।
समाजमा टिकाटिप्पणी भए पनि सकेसम्म राम्रो काम गर्दै अघि बढ्ने बताउँदै मन्त्री गौतमले माडीवासीलाई व्यक्तिगत स्वार्थभन्दा जनताका साझा समस्या लिएर आउन आग्रह गर्नुभयो । उहाँले सर्वसाधारणका समस्यालाई कुनै न कुनै रूपमा समाधान गरेरै छाड्ने आश्वासनसमेत दिनुभयो ।




