६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा ब्राजिलले हाइटीमाथि ३–० को फराकिलो गोलअन्तरले सानदार जित दर्ता गरेको छ । उत्कृष्ट लयमा देखिएको ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिनिसियस जुनियरले एक गोल गर्दै टोलीलाई विश्वकप २०२६ को पहिलो जित दिलाए ।
खेलको सुरुवाती समयदेखि नै हाइटीलाई दबाबमा राखेको ब्राजिलका लागि ११औं मिनेटमा म्याथ्यु कुन्हाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनैले खेलको २३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर बन्यो । खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको ब्राजिलका लागि ३६औं मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल थप्दै पहिलो हाफमै खेल ३–० को स्थितिमा पुर्याए, जुन खेलको निर्णायक नतिजा समेत बन्यो ।
सन् २००२ को विश्वकपयता समूह चरणको कुनै पनि खेलमा ब्राजिलले तीन गोल गरेको यो पहिलो पटक हो । यसअघि आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको ब्राजिलले यस जितसँगै समूह तालिकामा महत्वपूर्ण ४ अंक जोडेको छ । अर्कोतर्फ, लामो समय अर्थात् ५६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हाइटीले भने समूह चरणका दुवै खेलमा हार ब्यहोर्दै अघिल्लो चरणको यात्रा कठिन बनाएको छ । यसअघि आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको हाइटी यस खेलमा पनि गोलविहीन रहन पुग्यो ।




