४ असार, काठमाडौं । धितोपत्र बजारमा बिहीबार सामान्य गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंकले घटेर २७०० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंकले बढेको थियो । आज दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ विन्दुको बीचमा सीमित रहँदै बजारको उतारचढाव सामान्य रह्यो । परिसूचिकासँगै बिहीबार कारोबार रकममा पनि केही कमी आएको छ । अघिल्लो दिन ३ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड रुपैयाँमा खुम्चिएको छ ।
आज बजारमा कुल ७७ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको मूल्य घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत सूचक तर्फ हेर्दा सबै उपसमूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०२, फाइनान्स ०.२०, माइक्रोफाइनान्स ०.०४ तथा व्यापार उपसमूह ०.३१ प्रतिशतले बढेका छन् । अर्कातर्फ विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४, जलविद्युत् ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य उपसमूह ०.८६ प्रतिशतले घटेका छन् ।
बजार घटे पनि दुई नयाँ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले वृद्धि भएको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ९२९.७० रुपैयाँ तथा एपोलोको ७९६.६० रुपैयाँ पुगेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको १२.५३, बुंगल हाइड्रोपावरको ८.५६ र भुजुङ हाइड्रोको ६.३० प्रतिशतले मूल्य बढेको छ । घट्ने कम्पनीहरूमा आँखुखोला जलविद्युतको ४.०१, दोल्ती पावरको ३.२० र सीईडीबी होल्डिङ्सको ३.०७ प्रतिशतले मूल्य ओरालो लागेको छ । आज बजारमा धेरै कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, बुंगल हाइड्रो र सिद्धार्थ बैंक अग्रस्थानमा रहेका छन् ।



