३ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको ऐतिहासिक कीर्तिमानी गोल र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा सेनेगलमाथि ३–१ को सानदार जित दर्ता गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल पस्कँदै जित सुनिश्चित गर्यो । फ्रान्सका लागि कप्तान एम्बाप्पेले दुई तथा ब्राड्ली बारकोलाले एक गोल गरे ।
खेलको दोस्रो हाफको ६८औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले आकर्षक गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा परेको सेनेगलविरुद्ध खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता २–० को स्थितिमा पुर्याए । खेलको निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा सेनेगलका इब्राहिम बाएले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याएर रोमाञ्चकता थपेका थिए । तर त्यसको केही समयमै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको ३–१ को जित पक्का गरे ।
यस खेलमा दुई गोल गरेसँगै कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन् । विश्वकपमा उनको कुल गोल संख्या १४ पुगेको छ ।




