२४ जेठ, माडी । चितवनको माडी वसन्तपुरमा जारी नगरस्तरीय माडी मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज २४ गते फाइनल खेलहरू सम्पन्न भएका छन् ।
वसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो ३ बजे भएको छात्रतर्फको फाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयलाई २–१ को गोल अन्तरले पराजित गर्दै माडी माध्यमिक विद्यालयले उपाधि चुमेको छ । छात्रतर्फ प्रथम हुने माडी माविले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु. १५,०००/- तथा उपविजेता बनेको जनकल्याण माविले ट्रफी र मेडलसहित नगद रु. ७,५००/- प्राप्त गरेका छन् ।
यसैगरी आजै भएको छात्रातर्फको फाइनल भिडन्तमा दिवाकर स्मृति माध्यमिक विद्यालयले जनजीवन माध्यमिक विद्यालयलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भयो । उपाधि विजेता छात्रातर्फको दिवाकर स्मृति माविले ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार बापत नगद रु. १५,०००/- प्राप्त गरेको छ भने उपविजेता बनेको जनजीवन माविले ट्रफी र मेडलसहित दोस्रो पुरस्कार बापत नगद रु. ७,५००/- मा चित्त बुझायो ।
नगर शिक्षा तथा खेलकुद विकास समिति, माडी नगरपालिकाद्वारा आयोजित “शिक्षासँगै खेलकुद” भन्ने मूल नाराका साथ जेठ १६ गतेदेखि सुरु भएको यो प्रतियोगिता छात्र तथा छात्रा दुवैतर्फका फाइनल खेलहरूसँगै आज सम्पन्न भएको छ ।




