२१ जेठ, चितवन । माडी–ठोरी सडकखण्ड अन्तर्गत चितवनको माडी नगरपालिका ९ रातोमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन् ।
बिहीबार राति करिब ८ बजे माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोक्किँदा पर्साको ठोरी गाउँपालिका १ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका हुन् । घाइतेका भतिज सागर कुँवरका अनुसार ठोरीबाट काठमाडौंका लागि छुटेको रात्रीबसमा यात्रु चढाएर मोटरसाइकलमा फर्कने क्रममा सो दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै घाइतेले गुहार मागेपछि ठोरीको अमुवा पोष्टमा रहेका नेपाली सेनाको टोलीले घटनास्थल पुगेर उहाँको उद्धार गरेको थियो । दुर्घटनाका कारण कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि सुरुमा ठोरीस्थित स्वास्थ्य चौकी चोकबजार लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।




