१७ जेठ, चितवन । चितवनको माडी वसन्तपुरमा जारी नगरस्तरीय माडी मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । वसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएका खेलहरूमा छात्रतर्फ सोमेश्वर र छात्रातर्फ जनजीवन माध्यमिक विद्यालयले जित दर्ता गरेका छन् ।
आज भएको छात्रतर्फको रोमाञ्चक प्रतिस्पर्धामा सोमेश्वर माविले कृष्णनगर माध्यमिक विद्यालयलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो । सोमेश्वरको जितका लागि समिर नेपालीले दुई र रोहन डल्लाकोटी एक गोलको योगदान दिएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोमेश्वरका समिर नेपाली प्लेयर अफ द म्याच घोषित भए ।
यसैगरी, आजै भएको छात्रातर्फको निकै प्रतिष्पर्धात्मक खेलमा जनजीवन मावि विजयी भएको छ । सोमेश्वर मावि र जनजीवन मावि बीचको निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा सोमेश्वरलाई ४–२ गोल अन्तरले पछि पार्दै जनजीवनले जित आफ्नो पोल्टामा पार्न सफल भयो । खेलमा उत्कृष्ट बचाउ गरेकी जनजीवनकी गोलरक्षक समीक्षा महतो प्लेयर अफ द म्याच चुनिन सफल भइन् ।
प्रतियोगिता अन्तर्गत भोलि जेठ १८ गते पनि दुईवटा खेलहरू हुनेछन् । भोलिको पहिलो खेल छात्रतर्फ दिउँसो ३:०० बजे जनकल्याण मावि र खैरहनी मावि बीच हुनेछ भने दोस्रो खेल छात्रातर्फ बेलुकी ४:३० बजे दिवाकर स्मृति मावि र जनकल्याण मावि बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
शिक्षासँगै खेलकुद भन्ने मूल नारा र खेलकुदमा सहभागिता, स्वास्थ्य, अनुशासन र राष्ट्रको प्रतिबद्धता भन्ने सन्देशका साथ आयोजित यस प्रतियोगिताको आयोजना नगर शिक्षा तथा खेलकुद विकास समिति, माडी नगरले गरेको हो । जेठ १६ गतेदेखि सुरु भई आगामी जेठ २४ गतेसम्म चल्ने यस प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फका विजेता टोलीले नगद १५,००० रुपैयाँ र द्वितीय हुने टोलीले ७,५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




