१४ जेठ, चितवन । चितवन उद्योग संघ र माडी पालिका समितिको आयोजनामा माडी क्षेत्रका उद्यमीहरूलाई लक्षित गरी सञ्चालन गरिएको २ दिने नेतृत्व विकास तालिम आज भव्यताका साथ सम्पन्न भएको छ ।
माडी नगरपालिका वडा नं. ६ स्थित आनन्द विश्राम चौतारीमा जेठ १३ गतेदेखि सुरु भएको उक्त तालिममा माडी क्षेत्रका ४० जना उद्यमीहरूकोसक्रिय सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता, व्यावसायिक विकास र उद्घोषण मञ्च सञ्चालन कलाबारे विशेष प्रशिक्षण दिइएको थियो ।
तालिमको समापन सत्रमा सहभागीहरूको आँट, आत्मविश्वास र उद्घोषण कलाको मूल्याङ्कन गर्न एक प्रस्तुति प्रतिस्पर्धा गराइएको थियो । जसमा निर्धक्कसँग अगाडि आएर आफ्नो प्रस्तुति दिने सहभागीहरू मध्ये उत्कृष्ट ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको थियो । उक्त प्रतिस्पर्धामा उत्कृष्ट स्थान हासिल गर्दै पुरस्कार पाउनुहुनेहरूमा प्रथम मोहन राज पोखरेल, द्वितीय हरि पोख्रेल र तृतीय स्थानमा इन्द्रप्रसाद पौडेल हुनुभयो । विजेता तीनै जनालाई पुरस्कार स्वरूप डायरी प्रदान गरिएको थियो ।
चितवन उद्योग संघ र माडी पालिका समितिका अध्यक्ष जिताराम महतोको अध्यक्षता तथा चितवन उद्योग संघका केन्द्रीय अध्यक्ष मदनघिमिरेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माडी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र राज पौडेल र चितवन उद्योग संघका उपाध्यक्ष प्रमेश्वर भण्डारी उपस्थित हुनुहुन्थ्यो ।
तालिममा उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशम लाल आचार्य, माडी उद्योग वाणिज्य संघका संस्थापक भोजराज खनाल, आ.बि.चौ. अध्यक्ष सुरेश बहादुर थापा, र ज्येष्ठ नागरिक दिलकुमारी अधिकारी लगायतको आतिथ्यता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक द्वय गोविन्द प्रसाद पौडेल र कल्पना आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ माडी पालिका समितिका पदाधिकारीहरू, युवा उद्यमी मञ्चका प्रतिनिधिहरू र स्थानीय उद्यमीहरूको ठुलो उपस्थिति रहेको थियो । पूर्ण रूपमा नि:शुल्क आयोजना गरिएको यस तालिमले माडीका स्थानीय उद्यमीहरूमा नयाँ ऊर्जा र व्यावसायिक आत्मविश्वास थपेको सहभागीहरूले बताएका छन् ।




