११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञहरूसँग भेटघाट गर्ने भएका छन् । यसअघि विदेशी मुलुकका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने कूटनीतिक परम्परालाई तोड्दै संयुक्त रूपमा भेट्ने अभ्यास सुरु गरेर उनले निकै प्रशंसा बटुलेका थिए । सोही कूटनीतिक अभ्यासलाई निरन्तरता दिँदै उनले यो सामूहिक भेटवार्ता तय गरेका हुन् ।
यसपटकको भ्रमण तथा भेटघाट टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरूको सहभागिता रहनेछ । यस संयुक्त भेटघाटले कूटनीतिक संवादलाई थप प्रभावकारी र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।




