काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । सोमबार सार्वजनिक गरिएको नतिजासँगै बोर्डले पूरक परीक्षाको तालिका समेत तय गरेको हो । आगामी असार १ गते सोमबारदेखि सुरु हुने यो परीक्षा असार ९ गतेसम्म चल्नेछ ।
बोर्डको निर्णय अनुसार सैद्धान्तिकतर्फको अन्तिम ग्रेड ‘सी’ वा सोभन्दा कम प्राप्त गरेका विद्यार्थीहरूले आफ्नो नतिजा सुधार्न यो परीक्षामा सहभागी हुन पाउने छन् । यसका साथै बढीमा दुई विषयसम्म परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सहभागी हुने अवसर दिइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।



