२३ बैशाख, माडी । माडी नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकको नगरस्तरीय सार्वजनिक सुनुवाइ आगामी जेठ ४ गते सोमबार आयोजना गर्ने भएको छ ।
नगर कार्यपालिकादेखि प्रस्तावित वडासहित सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने देशकै एकमात्र स्थानीय सरकारका रूपमा चिनिएको माडी नगरपालिकाले सबै वडाहरूको सुनुवाइ हालै सम्पन्न गरिसकेको छ । वडाहरूको सुनुवाइ सकिएसँगै अब नगरस्तरीय मूल कार्यक्रम जेठ ४ गते सोमबार बिहान ११:०० बजे नगर कार्यपालिकाको कार्यालय परिसर, वसन्तपुरमा सञ्चालन हुनेछ ।
नगरपालिकाको सेवा प्रवाहलाई थप पारदर्शी र उत्तरदायी बनाउने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिनेछ । यसका साथै स्थानीय नागरिकका गुनासो, सुझाव र जिज्ञासाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै सुशासन र नागरिक सहभागितालाई सुदृढ गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
नगरबासीको आवाज सुन्नु र स्थानीय सरकारको कामलाई जनताप्रति उत्तरदायी बनाउनु हाम्रो मुख्य प्राथमिकता हो, भन्दै नगरपालिकाले यस गरिमामय कार्यक्रममा उपस्थित भई आफ्ना महत्वपूर्ण राय, सुझाव र सल्लाह प्रदान गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाहरूमा हार्दिक निमन्त्रणा गरेको छ ।



